Sunday, January 11, 2015

एन्जाइटी

--विवश बौलाहा


एउटा मान्छेलाई ससाना कुराहरूसँग पनि डर लाग्थ्यो । बजार जान, किनमेल
गर्न, सोध्न, अपरिचितसँग बोल्न जस्ता सामान्य भन्दा सामान्य कुराहरू, जुन
हरेक सामान्य मानिसहरूले सामान्य ढङ्गले सम्पन्न गर्न सक्छन्, पनि उसका
सामु पाहाड जस्ता चुनौति बनेर उभिदिन्थे ।


उ Paranoid पनि थियो । कसैले उसलाई हेर्यो भने पनि शङ्का गर्ने ।
मानिसहरू बोलेको जेख्दा पनि आफ्नै बारेमा कुरा काट्दै छन् भन्ठान्ने ।

उसको चप्पल चुँडिन आटेको थियो । नयाँ किन्नु पर्ने, तर बजार जान उसलाई डर
लाग्ने । त्यही भएर उसले , "चप्पल चुडिन आटेपनि चुडिएको त छैन नि, काम
चलेकै छ" भन्दै बजार जाने दिन पर सारी रह्यो ।

एकदिन उसको चप्पल चुँडियो । चुँडिएको चप्पल लगाएर कसरी त्यत्रो मानिसको
सामु हिड्नु ? खालि खुट्टा जाने त कुरै भएन । लाज भयो उसलाई ।

जुत्ता थियो । जुत्ता लगाएर काम चलाउन थाल्यो । चप्पल अझै किनेन । किन
किनेन ? सोध्न सजिलो छ । तर किनमेल प्रतिको उसको डर उसले मात्र महसुस
गर्न सक्छ । सोध्नेलाई थाहा हुन्न ।

चप्पलको पसलमा हेर्थ्यो । पस्न खोज्थ्यो । तर कुनै न कुनै कुराले उसलाई रोक्थ्यो ।

जस्तो कि: आज चप्पल किन्न पुग्ने पैसा छैन ।

चप्पल नाप्न जुत्ता खोल्नु पर्छ । मोजा गनायो भने, त्यो मान्छे ले के सोच्ला ??

यहाँ धेरै महङ्गो लिन्छ, भोलि न्युरोड गएर किन्छु ।

यसरी महिना बित्यो । उसको मोजा नै फाट्यो ।
झन् अर्को समस्या । फाटेको मोजा कसरी देखाउने ?

अन्तत:, उ बजार निस्कियो, सय रूपियाको ३ जोर मोजा किन्यो,
कोठामा आयो, नयाँ मोजा लायो, पसल गयो र चप्पल किन्यो ।

र यसरी मैले तपाईंको २ मिनेट समय बर्बाद गरिदिएँ ।

नारी मुक्तिको आन्दोलन

-विवश बौलाहा


एक जना नानीले सरूभक्तको उपन्यास "तरूनी खेती" पढे पछि नारी माथि हुने
गरेका अत्याचार विरूद्ध विद्रोह गर्ने जोस जागेको कुरा जानकारी गराएकी
थिइन् ।

त्यसको केही दिन पछि उनले फेसबुकबाट भटाभट केटा साथिहरू हटाउन थालिन् ।

ल ! किताबले जादु गरेछ, भन्ठानेँ । नानीको विद्रोह सफल रहोस् भन्ने
आशयकासाथ एउटा म्यासेज पठाए । अनि त्यस्तो रौद्ररूपमा आउनुको कारण पनि
सोधीटोपलेँ ।

उत्तर पढ्दा मथिङ्गल नै घुम्यो । उनको प्रेमीलाई उनी केटाहसँग बोलेको मन
परेन, त्यसैले केटा साथीहरू हटाएको रे ।

अनि त्यतिबेलै कुनै आदर्शवान् पुस्तक प्रेमीले किताबले मान्छेको
जिन्दगीमा परिवर्तन ल्याउछ भनेको सम्झेँ ।

खैर जे होस्, ती नानीले थालेको नारी मुक्तिको आन्दोलन सफल रहोस् । तिनलाई
शुभकामना ।

Wednesday, January 7, 2015

यति छिटो यति धेरै नजिक नआउ ।

यति छिटो यति धेरै नजिक नआउ । मलाई अचेल डर लाग्न थालेको छ, तिमीसँग,
हाम्रो सामिप्यतासँग ।

हतार गरेर के फाइदा ? हिडौँ न बिस्तारै बिस्तारै । मिलेर शिखर जो चढ्नु छ ।
मित्रताको शिखर । हामी केवल मित्र हुन सक्छौ । हतार किन ?

सायद तिमीलाई रहर लागेको छ, छिट्टै मित्रताको चुचुरोमा पुग्ने । तर
थाहा छ ? चुचुरोमा पुगेपछि ओर्लिनु पर्छ त्यही बसिरहन सकिँदैन ।
चढावमा जस्तो सन्तुष्टि उतारमा कहाँ । चुचुरोमा पुग्दाको चरम सुख फेरि
कहिले पाइन्छ ? गन्तव्य पछ्याउदाका ती तरङ्गहरू, रोमाञ्चक अपेक्षाहरू
होलान् त ओर्लिदा पनि ?

अलिकति सन्तुष्टि होला शिखर आरोहणको, अलि कति दम्भ होला । तर टिक्न
सक्दैनन् ती भावनाहरू कत्ति पनि सापेक्षताको सिद्धान्तसामु ।

अनि तुलना गर्न थाल्छौ हामी, अहिलेको अवस्थाको, सुरूवाती दिनहरूसँग ।

कहाँ त्यो रहस्यमयी एक्सप्लोरेसन, कहाँ यो सवै रहस्यहरूसँग भिजिसके पछिको
औपचारिक वार्तालाप ।

हो, त्यसैले बिस्तारै हिडँ । बिस्तारै हिड्न देउ । म यसरी हिड्ने छु
कि मेरो जीवनको अन्त्य तिर मात्रै तिम्रो आत्माको ढोका सम्म पुगियोस् ।

हो, त्यसैले बिस्तारै अघि बढाऔँ हाम्रो वार्तालाप, ताकी समय भन्दा
पहिल्यै कुरा गर्न चाहिने शव्दहरू नसिद्धिउन् ।

शव्दहरू पनि सिद्धिन्छन् र ? सोध्लिउ तिमी । मेरो विश्वास गर,
जीवनमा एउटा यस्तो समय आउँछ, जतिखेर तिमीसँग, तिम्रा असल मित्रहरूसँग
बोल्नको लागि, कुनै कुरा बाँकी रहनेछैन ।

कविता: सिसिफस

सिसिफस
-विवश बौलाहा


"रन् विवश, रन् !"

गुञ्जयमान् यो पार्श्वध्वनिसँगै दौडीरहेको छु म ।
मेरो प्रतिस्पर्धा- अतितसँग, भविष्यको लागि ।

लक्ष्य आँखा सामु छ, आइपुग्नै लाग्यो ।
यस् !! आईपुग्यो ।

तर सफलताको पदक भिर्न नपाउदै, असफलताको बिलौना गाउन नपाउदै,
रेफ्रि सक्रिय भइसक्छ ।

" अन योर मार्क,
गेट,
सेट,
गो "
र मेरा खुट्टाहरू स्वचालित रूपमै दौडिन पुग्छन् ।

नेपथ्यमा समय कराईरहेकै छ-
"रन् सिसिफस्, रन् !!"

उफ् ! यो जिन्दगी ।