गजल
-विवश बौलाहा
स्वयम् आफुमा नजलि तारा चम्किन सक्दैन ।
जलेन भने बत्तिले उज्यालो दिन सक्दैन ।
मुटु जमाई हेर्दै छ, छोराको देह जलेको
आमा जसरी सजिलै बाबु पोखिन सक्दैन ।
कुकुरको पुच्छर अनि त्यो नेतामा के फरक हुन्छ ?
पुच्छर बरू सोझिएला, नेता सोझिन सक्दैन ।
हेर 'झ्याउ'ले ढुङ्गालाई माटो बनाई रहेछ
भन्दै'थ्यौ तिमी ढुङ्गामा केही उम्रिन सक्दैन ।
चोर भन्दा धेरै निर्दोष छन् गनेर हेर जेलमा
चोर भाग्छ घुस खुवाएर, निर्दोष उम्किन सक्दैन ।
मन्दिरको गुठी लुटियो, मुर्ति पनि चोरिएछ
रक्षक अरे दुनियाको ! आफैँ जोगिन सक्दैन ।
लाग्न थाल्यो उस्ता-उस्तै, यो सरकार अनि जँड्याहा
ठुल्ठुला गफ मात्रै दिन्छ, सिधा उभिन सक्दैन ।
No comments:
Post a Comment