**निराशा**
-विवश बौलाहा
एक मुठी
उज्यालो बोकेर
हिडीरहेको थ्यो एक यात्री
बढिरहेको थ्यो गन्तव्यतर्फ
निष्पट्ट अँध्यारोमा
छामछाम छुमछुम गर्दै
ऊ खुशी थियो
किनकी ऊसँग उज्यालो थियो
मधुरो भएपनि
भलै त्यसले बाटो नदेखाओस्
ऊसँग उज्यालो थियो
आशाको त्यान्द्रो थियो
तर अचानक
ठेस लाग्यो
मुठ्ठी खुल्यो
र भाग्यो एउटा कैद जुनकिरी
अव ऊसँग बाँकी थियो
फगत अँध्यारो
त्यान्द्रो चुँडीयो
र झरेर फुटे त्यसमा झुण्डीरहेका
तौलविहिन सपनाहरु
ऊ गल्यो, थ्याच्चै बस्यो यात्रा त्यहीँ टुंगियो
त्यान्द्रो चुँडीयो र झरेर फुटे
त्यसमा झुण्डीरहेका उसका सपनाहरु
यद्यपि ती सपनाहरु
हावामा तैरीने सामर्थ्य राख्थे
मुठ्ठी खुल्यो जुनकिरी भाग्यो
उसको यात्रा टुँगियो
यद्यपी ऊ गन्तव्यवाट
केही कदम मात्र टाढा थियो
उसले जित्न सक्थ्यो
हार नमानेको भए
तर ऊ हाऱ्यो
किनकी
जुनकिरीको खोजीमा भौतारिँदा भौतारिँदै
उसले बिर्सी सकेको थियो
ऊ अँध्यारोमा पनि हिड्न सक्छ भन्ने कुरा । । ।
No comments:
Post a Comment